४, चैत २०८२
बाँके ।कोहलपुर नगरपालिका–५ मा लागुऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ। अभियानअन्तर्गत बुधबार वेष्टर्न माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको अभियान्ता विनोद थापाले जानकारी दिनुभयो।
वडा नं. ५ का वडाध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख संगिता सुवेदीले खुला सीमा क्षेत्रको प्रभावका कारण यहाँका बालबालिका समेत लागुऔषध दुव्र्यसनको जोखिममा परेको बताउनुभयो। उहाँले दुव्र्यसनबाट उत्पन्न हुने शारीरिक, मानसिक तथा सामाजिक समस्याबाट नगरलाई मुक्त बनाउन विद्यालयस्तरबाटै सचेतना अभियान सुरु गरिएको स्पष्ट पार्नुभयो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी चक्रडम्वर पालले लागुऔषधको बढ्दो ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि प्रहरीले कानुनी कारबाहीसँगै सचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको जानकारी दिनुभयो।
कोहलपुर नगरपालिकाका रोजगार संयोजक आशिष वर्माले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा बालबालिकालाई लागुऔषधको प्रयोग, त्यसका नकारात्मक प्रभाव तथा बच्ने उपायबारे जानकारी गराइएको थियो।
कार्यक्रममा ब्रिज, पञ्चमुखी र सिद्धार्थ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।











