स्वच्छ वातावरणका लागि साझा पहल : दशबिगाह क्षेत्रमा वृहत् सरसफाई

  • अशाेक भण्डारी

  • कोहलपुर नगरपालिका–११ स्थित दशबिगाह अस्पताल तथा आसपासको क्षेत्रमा वातावरणीय स्वच्छता, सार्वजनिक स्वास्थ्य संरक्षण तथा सौन्दर्य प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । सुर्य रोकायाको अगुवाईमा समुदायस्तरमा स्वच्छता र वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित स्वतन्त्र रूपमा सञ्चालन गरिएको उक्त अभियानमा स्थानीय सामाजिक अभियन्ता, विभिन्न संघसंस्था, सुरक्षाकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
    सरसफाइ अभियानका अगुवा तथा सामाजिक अभियन्ता सूर्य रोकायले स्वच्छ वातावरण स्वस्थ र सभ्य समाज निर्माणको आधार भएको बताउनु भयो । उहाँले वातावरण संरक्षण र सरसफाइ केवल सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्नुभयो । “हामीले आफ्नो घर, टोल, सार्वजनिक स्थल तथा संस्थागत क्षेत्रलाई सफा राख्न सके मात्र स्वच्छ र स्वस्थ समाजको परिकल्पना गर्न सक्छौं,” उहाँले भन्नुभयो, “दशबिगाह अस्पताल जस्तो संवेदनशील क्षेत्रमा सरसफाइ गर्नु भनेको केवल फोहोर उठाउनु मात्र होइन, जनस्वास्थ्यप्रति जिम्मेवार बन्नु पनि हो ।”

    उहाँले समुदायमा स्वच्छता संस्कृतिको विकास गर्न यस्ता अभियान नियमित रूपमा सञ्चालन गरिनुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय नागरिक, संघसंस्था, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको सक्रिय सहभागिताले अभियानलाई थप प्रभावकारी बनाएको बताउनुभयो । “आजको अभियानमा सहभागी सम्पूर्ण व्यक्तित्वहरूलाई धन्यवाद दिन चाहन्छु । समुदायको यस्तै साथ, सहयोग र प्रतिबद्धता रहिरहे कोहलपुरलाई स्वच्छ, हरित र सुन्दर नगरका रूपमा स्थापित गर्न सकिन्छ,” रोकायले भन्नुभयो । सरसफाइ कार्यक्रममा शंकर न्यौपाने, भरत तिवारी, कुश्माखर बस्याल, दिनेश केसी, हिरालाल राना, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि राजेन्द्र महतरा, कोहलपुर नगर प्रहरी, कोहलपुर सरसफाइ टिम तथा दशबिगाह अस्पतालका सुरक्षा र सरसफाइ टोली सक्रिय रूपमा सहभागी भएका थिए ।
    कार्यक्रमका क्रममा दशबिगाह अस्पताल परिसर, अस्पताल वरपरका सार्वजनिक स्थल, सडक किनार तथा अन्य खुला क्षेत्रमा थुप्रिएका फोहोर संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरिएको थियो । सरसफाइ अभियानका क्रममा प्लास्टिकजन्य फोहोर, कागज, बोतल तथा अन्य वातावरणलाई असर पुर्याउने विभिन्न प्रकारका फोहोरहरू संकलन गरी उचित व्यवस्थापनका लागि पठाइएको सहभागी शंकर न्यौपानेले जानकारी दिए ।
    अभियानमा सहभागीहरूले वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै स्वच्छ समाज निर्माणका लागि हरेक व्यक्ति सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए । स्थानीयवासीहरूले समेत सरसफाइ अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै समुदायमा सहकार्य, एकता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । विगत लामो समयदेखि कोहलपुर क्षेत्रका विभिन्न सार्वजनिक स्थलमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। शनिबार सम्पन्न यो अभियानले पनि स्वच्छ, सुन्दर र स्वस्थ कोहलपुर निर्माणको अभियानलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूको भनाइ छ ।
    अभियानका आयोजकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रमलाई निरन्तरता दिँदै समुदायको सक्रिय सहभागितासहित स्वच्छता अभियानलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • २३ जेष्ठ २०८३, शनिबार १९:१० प्रकाशित

  • Nabintech