बाँके ,२४ जेठ।
तराईका फाँटहरू यतिबेला प्रचण्ड घामको तापले पोलिन थालेका छन्। बिहानैदेखि तातो हावाको लहर चल्न थालेपछि जनजीवन प्रभावित बन्दै गएको छ। विशेषगरी बाँकेसहित पश्चिम तराईका जिल्लामा पछिल्ला केही दिनयता तापक्रम निरन्तर बढ्दै जाँदा विद्यालय जाने बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति चिन्ता बढेको छ।
बढ्दो गर्मी र लुको जोखिमलाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रबिलाल मिजारका अनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म सबै विद्यालयको पठनपाठन स्थगित गरिएको छ।
नगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा डिहाइड्रेसन, लु लाग्ने, टाउको दुख्ने, थकानलगायत स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरेको जनाएको छ। मौसममा तत्काल सुधार आउने संकेत नदेखिएको र तापक्रम निरन्तर बढिरहेको अवस्थाले बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता महसुस गरिएको शाखा प्रमुख मिजारले बताउनुभयो।
पछिल्ला दिनहरूमा कोहलपुरसहित आसपासका क्षेत्रमा दिउँसोको तापक्रम अत्यधिक बढ्न थालेको छ। प्रचण्ड गर्मीका कारण बजार क्षेत्रको चहलपहल घट्दै गएको छ भने मुख्य सडकहरू समेत दिउँसोका समयमा सुनसान देखिन थालेका छन्। सर्वसाधारण सकेसम्म घरभित्रै बस्न बाध्य भएका छन्। तातो हावा र लुको जोखिम बढेसँगै दैनिक जनजीवनमा प्रत्यक्ष असर परेको स्थानीयवासी बताउँछन्।
स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई बढी प्रभावित पार्न सक्ने चेतावनी दिएका छन्। उनीहरूले पर्याप्त मात्रामा पानी पिउन, झोलिलो तथा पौष्टिक खानेकुरा सेवन गर्न, अनावश्यक रूपमा घाममा ननिस्कन र दिउँसोको समयमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
कोहलपुर नगरपालिकाले हालका लागि तीन दिन बिदा घोषणा गरे पनि मौसमको अवस्था र तापक्रमको उतारचढावलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। आवश्यक परे थप निर्णय लिन सकिने संकेतसमेत नगरपालिकाले दिएको छ।
गर्मीको बढ्दो प्रकोपसँगै यतिबेला कोहलपुरवासी वर्षाको प्रतीक्षामा छन्। आकासमा बादल देखिए पनि वर्षा नहुँदा गर्मी झन् बढ्दो क्रममा छ। प्रकृतिको शीतल स्पर्श नआएसम्म तराईका बस्तीहरूले घाम र लुको कठोर परीक्षा सामना गर्नुपर्ने अवस्था देखिएको छ। स्थानीयवासीहरू अब चर्को गर्मीबाट राहत दिलाउने मनसुन वर्षाको प्रतीक्षामा छन्।









