अदानचुलीका १९ सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण,

सबै विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्ने गाउँपालिकाको प्रतिबद्धता


  • अशाेक भण्डारी

  • ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्दै विद्यालय शिक्षालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ अदानचुली गाउँपालिकाले १९ वटा सामुदायिक विद्यालयलाई डेस्कटप कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बीच आफ्ना मातहतका विद्यालयलाई एक–एक सेट डेस्कटप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो।

    गाउँपालिकाको शिक्षा क्षेत्र सुधार अभियानअन्तर्गत गरिएको यस कार्यक्रमलाई स्थानीय स्तरमा डिजिटल शिक्षातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। विद्यालयमा कम्प्युटर तथा प्रिन्टरको अभावका कारण प्रशासनिक कार्य, शैक्षिक तथ्याङ्क व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सिकाइ क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको अवस्थामा गाउँपालिकाको यो पहलले विद्यालयलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

    कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह ले शिक्षाको गुणस्तर अभिवृद्धि र प्रविधिमा आधारित सिकाइ वातावरण निर्माण गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउनुभयो। उहाँले विद्यालयमा कम्प्युटर र प्रिन्टर वितरण केवल सामग्री हस्तान्तरणको कार्यक्रम मात्र नभई भविष्यको शिक्षामा गरिएको दीर्घकालीन लगानी भएको उल्लेख गर्नुभयो।

    अध्यक्ष सिंहले भन्नुभयो,“आजका विद्यार्थीहरू भोलिका दक्ष जनशक्ति हुन्। उनीहरूलाई आधुनिक ज्ञान, सीप र प्रविधिसँग जोड्नु स्थानीय सरकारको दायित्व हो। त्यसैले हामीले विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई प्राथमिकताका साथ अगाडि बढाएका छौं। कम्प्युटर र प्रिन्टर वितरणसँगै विद्यालयमा डिजिटल सिकाइ वातावरण निर्माण गर्ने हाम्रो लक्ष्य हो।“

    उहाँले गाउँपालिकाभित्र रहेका सबै विद्यालयलाई क्रमशः आवश्यक प्रविधिमैत्री सामग्री उपलब्ध गराइने जानकारी दिँदै विद्युत् पहुँच नपुगेका तथा सोलार प्रणाली नभएका विद्यालयमा सौर्य ऊर्जाको व्यवस्था गर्नसमेत पहल भइरहेको बताउनुभयो।

    “केही विद्यालयमा कम्प्युटर सञ्चालनका लागि विद्युत् आपूर्तिको समस्या छ। त्यसलाई समाधान गर्न सोलार जडानको योजना अगाडि बढाइनेछ। सामग्री वितरण गरेर मात्र हाम्रो जिम्मेवारी पूरा हुँदैन, ती सामग्री प्रभावकारी रूपमा सञ्चालन हुने वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यक छ,“ अध्यक्ष सिंहले भन्नुभयो।

    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्दवीर शाही ले शिक्षा क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाउन गाउँपालिकाले निरन्तर प्रयास गर्ने बताउनु भयो । उहाँका अनुसार विद्यालय प्रशासन, शैक्षिक अभिलेख व्यवस्थापन, ई–मिस प्रणाली, परीक्षा व्यवस्थापन तथा विद्यार्थीको सिकाइ प्रक्रियालाई आधुनिक बनाउन कम्प्युटर अत्यन्त आवश्यक भइसकेको छ।

    उहाँले भन्नुभयो,
    “शिक्षा क्षेत्र अहिले विश्वव्यापी रूपमा डिजिटल प्रणालीतर्फ उन्मुख भइरहेको छ। यस्तो अवस्थामा ग्रामीण क्षेत्रका विद्यालयलाई प्रविधिबाट टाढा राख्न सकिँदैन। गाउँपालिकाले उपलब्ध गराएको कम्प्युटर र प्रिन्टरले विद्यालयको प्रशासनिक कार्यलाई सहज बनाउनुका साथै विद्यार्थीलाई कम्प्युटर शिक्षामा समेत सहयोग पु¥याउने विश्वास गरेका छौं।“

    यस अवसरमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा जिन्सी शाखा प्रमुख हंस महतारा ले शिक्षा क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन सकारात्मक परिणाम दिने बताउनुभयो। उहाँका अनुसार अदानचुली गाउँपालिकाले पछिल्ला वर्षहरूमा विद्यालय पूर्वाधार विकास, शैक्षिक सामग्री व्यवस्थापन, शिक्षक क्षमता अभिवृद्धि र डिजिटल शिक्षामा उल्लेखनीय लगानी गर्दै आएको छ।गाउँपालिकाले वितरण गरेका कम्प्युटर तथा प्रिन्टरहरू चिनियाँ सरकारको वैदेशिक सहयोगमार्फत प्राप्त सामग्रीमध्येका भएको जनाइएको छ। ती सामग्री विद्यालयको आवश्यकता र पहुँचका आधारमा चरणबद्ध रूपमा वितरण गरिएको हो। गाउँपालिकाका अनुसार बाँकी विद्यालयलाई पनि निकट भविष्यमा आवश्यक सामग्री उपलब्ध गराइनेछ।

    विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले गाउँपालिकाको पहलप्रति खुसी व्यक्त गरेका छन्। ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरीप्रसाद जैसी ले कम्प्युटर र प्रिन्टर प्राप्त भएपछि विद्यालयको दैनिक प्रशासनिक कार्य, पत्राचार, प्रतिवेदन तयारी तथा ई–मिस डाटा प्रविष्टि कार्यमा सहजता आउने बताउनुभयो।स्थानीय अभिभावक तथा शिक्षा सरोकारवालाले समेत गाउँपालिकाको यस पहललाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार दुर्गम क्षेत्रमा रहेका विद्यालयलाई आधुनिक प्रविधिसँग जोड्न सके विद्यार्थीको सिकाइ स्तरमा सुधार आउने, डिजिटल साक्षरता बढ्ने र शैक्षिक प्रशासन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

    अदानचुली गाउँपालिकाले शिक्षा क्षेत्रलाई विकासको प्रमुख आधार मानेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालय पूर्वाधार निर्माण, शैक्षिक सामग्री वितरण, शिक्षक तालिम, छात्रवृत्ति कार्यक्रम तथा सूचना प्रविधिमा आधारित शिक्षाको विस्तारमार्फत गाउँपालिकाले शैक्षिक सुधारलाई संस्थागत गर्ने प्रयास गरिरहेको छ।

    हाल वितरण गरिएका कम्प्युटर र प्रिन्टरले विद्यालयमा डिजिटल प्रशासन र प्रविधिमैत्री शिक्षाको आधार तयार गर्ने विश्वास गरिएको छ। गाउँपालिकाले आगामी दिनमा इन्टरनेट सेवा, सोलार ऊर्जा तथा थप सूचना प्रविधि सामग्री उपलब्ध गराउँदै विद्यालयलाई पूर्ण रूपमा डिजिटल शिक्षातर्फ उन्मुख गराउने लक्ष्य लिएको जनाएको छ।

  • २६ जेष्ठ २०८३, मंगलवार ०७:४२ प्रकाशित

  • Nabintech