अदानचुली गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत चन्दबिर शाही ले २०८३ साल जेठ २५ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। गाउँपालिका कार्यालयमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारीहरूले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
गाउँपालिका अध्यक्षको उपस्थितिमा सम्पन्न कार्यक्रममा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत शाहीलाई कर्मचारी तथा शाखा प्रमुखहरूले स्वागत गरेका थिए। कार्यक्रममार्फत उहाँले गाउँपालिकाको समग्र प्रशासनिक अवस्था, विकास निर्माणका गतिविधि तथा सेवा प्रवाहका विषयमा प्रारम्भिक जानकारी लिनुभएको थियो।
पदभार ग्रहणपछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत शाहीले आफू भर्खरै गाउँपालिकामा आएकोले सबै विषयलाई गहिराइबाट बुझेर मात्र काम अगाडि बढाउने बताउनुभयो। उहाँले विगतका अनुभव र अभ्यासबाट सिक्दै भएका कमजोरी सुधार गरी संस्थागत रूपमा प्रभावकारी प्रशासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो,
“म भर्खर यहाँ आएको छु। सुरुमा गाउँपालिकाको समग्र अवस्था, आवश्यकता र चुनौतीहरू बुझ्ने प्रयास गर्नेछु। विगतमा भएका राम्रा अभ्यासलाई निरन्तरता दिँदै कमजोरी र त्रुटि देखिएका पक्षहरूलाई सुधार गरेर अघि बढ्ने मेरो प्राथमिकता रहनेछ।”

प्रमुख प्रशासकीय अधिकृत शाहीले स्थानीय तहमा प्रभावकारी प्रशासन सञ्चालनका लागि कर्मचारीबीच अनुशासन, जिम्मेवारीबोध र समन्वय आवश्यक रहेको उल्लेख गर्दै ‘कमाण्ड एन्ड कन्ट्रोल’ प्रणालीलाई सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो।
“स्थानीय सरकारको सफलतामा कर्मचारी संयन्त्रको महत्वपूर्ण भूमिका हुन्छ। त्यसैले जिम्मेवारीको स्पष्ट बाँडफाँट, कार्यसम्पादनमा अनुशासन र संस्थागत समन्वयलाई प्राथमिकतामा राखिनेछ। कमाण्ड एन्ड कन्ट्रोल प्रणाली मजबुत हुँदा प्रशासनिक कार्यसम्पादन अझ प्रभावकारी बन्न सक्छ,” उहाँले भन्नुभयो।
पदभार ग्रहण गरेलगत्तै उहाँले गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूसँग छुट्टाछुट्टै छलफल तथा ब्रिफिङ गर्नुभएको थियो। सो क्रममा शाखा प्रमुखहरूले हालसम्म सम्पादन भएका कार्य, कार्यान्वयनमा रहेका योजना, बजेट खर्चको अवस्था, सेवा प्रवाहका चुनौती तथा आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए।
शाखा प्रमुखहरूसँगको छलफलपछि प्रमुख प्रशासकीय अधिकृत शाहीले तथ्य र आवश्यकताका आधारमा योजना तथा प्रशासनिक कार्यलाई व्यवस्थित गर्दै सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउने बताउनुभयो।
उहाँले गाउँपालिकाको प्रशासनिक संयन्त्रलाई परिणाममुखी बनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने वातावरण निर्माण गरिने उल्लेख गर्नुभयो।

“स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। त्यसैले सेवाग्राहीले सहज, सरल र गुणस्तरीय सेवा पाउनुपर्छ। प्रशासनलाई पारदर्शी, उत्तरदायी र जनमैत्री बनाउनु हाम्रो साझा दायित्व हो,” उहाँले थप्नुभयो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत गर्दै अदानचुली गाउँपालिकाको समग्र विकास र प्रशासनिक सुधारमा उहाँको अनुभव उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्षले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो,
“स्थानीय तहको सफलता जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा निर्भर हुन्छ। हामी सबैको साझा लक्ष्य नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो। नयाँ प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा प्रशासनिक कार्य थप व्यवस्थित र प्रभावकारी बन्ने विश्वास लिएका छौं।”
अध्यक्षले गाउँपालिकामा सञ्चालित विकास निर्माणका योजना, सेवा प्रवाह तथा संस्थागत सुधारका प्रयासलाई थप गति दिन सबै कर्मचारीलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभयो। उहाँले सुशासन, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर गाउँपालिकालाई नमुना स्थानीय तहका रूपमा स्थापित गर्ने लक्ष्य रहेको पनि बताउनुभयो।

स्वागत कार्यक्रममा उपस्थित कर्मचारीहरूले पनि नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग सहकार्य गर्दै गाउँपालिकाको विकास र प्रशासनिक सुधारमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए। कर्मचारीहरूले उहाँको कार्यकालमा कार्यालयको कार्यसम्पादन, समन्वय र सेवा प्रवाह अझ प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरेका छन्।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत चन्दबिर शाहीको आगमनसँगै अदानचुली गाउँपालिकामा प्रशासनिक सुधार, संस्थागत सुदृढीकरण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूले नयाँ नेतृत्वसँग मिलेर सुशासन र विकासका लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्।












