शिक्षाको खोजीमा जङ्गलको जोखिम : ढकेलाका बालबालिकाको दैनिक संघर्ष, अभिभावक चिन्तित

  • नमस्ते कर्णाली

  • सरला सुवेदी
    बर्दिया,२८ जेठ ।
    शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो। तर बर्दियाको बारबर्दिया नगरपालिका–९ ढकेलाका बालबालिकाका लागि विद्यालय पुग्नु नै दैनिक चुनौती र जोखिमको विषय बनेको छ। गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा उनीहरू हरेक दिन लामो जङ्गलको बाटो पार गर्दै पढ्न जान बाध्य छन्।
    ढकेला गाउँमा कक्षा ५ सम्म मात्रै विद्यालय सञ्चालन हुने भएकाले त्यसपछिको अध्ययनका लागि विद्यार्थीहरू ५ देखि ७ किलोमिटर टाढा रहेको कतर्नियास्थित धर्मभक्त माध्यमिक विद्यालय पुग्नुपर्ने अवस्था छ। विद्यालय जान र फर्किन उनीहरूले घना जङ्गल, सुनसान बाटो तथा विभिन्न जोखिमहरू पार गर्नुपर्छ।
    विशेषगरी वर्षायाममा बाटो हिलाम्मे हुने, खोला तथा खहरेमा पानी बढ्ने र जङ्गली जनावरको डरले बालबालिकाको यात्रा अझ कठिन बन्ने गरेको छ। विद्यालय जाँदा र फर्कंदा कुनै अप्रिय घटना नहोस् भन्ने चिन्ताले अभिभावकहरू दिनभरि त्रसित रहने गरेका छन्।
    स्थानीय अभिभावक सीता थारुका अनुसार छोराछोरीलाई शिक्षा दिलाउन विद्यालय पठाउनैपर्ने बाध्यता भए पनि उनीहरू सुरक्षित रूपमा घर फर्कने कि नफर्कने भन्ने चिन्ताले सधैं सताइरहन्छ। “बिहान विद्यालय पठाएपछि बेलुकासम्म मन ढुक्क हुँदैन,” उनले भनिन्।
    ढकेलाकी कक्षा ८ की छात्रा समीक्षा डाँगी र विद्यार्थी विशाल वली हरेक दिन बिहान ८ बजे घरबाट विद्यालयका लागि हिँड्छन्। विद्यालय पुग्न उनीहरूलाई करिब दुई घण्टा लाग्ने गरेको छ। जङ्गली जनावरको डर त छँदैछ, बाटोमा मादक पदार्थ सेवन गरेका व्यक्तिहरू भेटिँदा आफूहरू थप असुरक्षित महसुस गर्ने गरेको उनीहरू बताउँछन्।
    “कहिलेकाहीँ बाटोमा नशालु पदार्थ सेवन गरेका मानिसहरू भेटिन्छन्। त्यस्तो बेला निकै डर लाग्छ,” समीक्षा भन्छिन्। विशालका अनुसार साथीहरू मिलेर समूहमा हिँड्दा केही साहस बढे पनि जङ्गलको बाटो कहिल्यै सुरक्षित महसुस हुँदैन।
    धर्मभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज बस्यालका अनुसार ढकेला गाउँबाट मात्रै करिब १३० जना विद्यार्थी अध्ययनका लागि विद्यालय आउने गरेका छन्। विद्यार्थीको सुरक्षाको विषयलाई विद्यालयले स्थानीय तहदेखि प्रदेश सरकारसम्म पटक–पटक जानकारी गराएको भए पनि समस्या समाधान हुन सकेको छैन।
    स्थानीयवासीले गाउँमै माध्यमिक तहसम्मको विद्यालय सञ्चालन वा सुरक्षित यातायातको व्यवस्था गर्न माग गर्दै आएका छन्। उनीहरूका अनुसार बालबालिकाले शिक्षाका लागि यति ठूलो जोखिम मोल्नुपर्ने अवस्था अन्त्य हुन आवश्यक छ।
    राज्यले सबै बालबालिकालाई सहज र सुरक्षित शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको भए पनि ढकेलाका बालबालिकाको वास्तविकता फरक छ। सुरक्षित सडक, विद्यालय यातायात वा नजिकै उच्च कक्षाको अध्ययन व्यवस्था नहुँदासम्म उनीहरूको विद्यालय यात्रा जोखिमपूर्ण नै रहने देखिन्छ। शिक्षा हासिल गर्ने चाहनाले उनीहरूलाई हरेक दिन जङ्गल पार गर्न प्रेरित गरिरहेको छ, तर त्यो यात्रासँग जोडिएको डर र अभिभावकको चिन्ता अझै हट्न सकेको छैन।

  • २८ जेष्ठ २०८३, बिहीबार ११:५५ प्रकाशित

  • Nabintech