बैजनाथमा ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण

  • नमस्ते कर्णाली

  • बाँके ,२९ जेठ ।
    किसानसँग पालिका प्रमुख कार्यक्रमअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिकाले पालिकाभित्रका किसानलाई ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण गरेको छ। कृषि उपजको तौल मापनलाई पारदर्शी, विश्वसनीय र व्यवस्थित बनाउने उद्देश्यसहित चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रममार्फत ७६ जना किसानलाई ७६ थान डिजिटल तराजु वितरण गरिएको हो।
    गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, कार्यपालिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक फरिदुद्धिन हल्वाई र कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले किसानलाई डिजिटल तराजु हस्तान्तरण गरेका थिए।
    कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहीले किसानले उत्पादन गरेका कृषि उपजको सही तौल निर्धारण गर्न र बजारमा विश्वसनीयता कायम गर्न डिजिटल तराजु वितरण गरिएको बताए। उनले डिजिटल प्रविधिको प्रयोगले किसान र कृषि उपज खरिदकर्ताबीच विश्वासको वातावरण सिर्जना हुनुका साथै उत्पादनको बजारीकरणमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
    “किसानले उत्पादन गरेको वस्तुको सही तौल निर्धारण हुँदा किसान र खरिदकर्ताबीच विश्वास बढ्छ। यसले कृषि उत्पादनको बजारीकरणलाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउनेछ,” अध्यक्ष शाहीले भने।
    उनका अनुसार स्थानीय सरकारले किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्ने, उत्पादन लागत घटाउने तथा कृषि व्यवसायलाई थप व्यावसायिक बनाउने उद्देश्यले विभिन्न कृषि सामग्री र उपकरण अनुदानमा उपलब्ध गराउँदै आएको छ। उनले वितरण गरिएका कृषि उपकरण तथा सामग्रीको सही सदुपयोग गर्न किसानलाई आग्रह समेत गरे।
    गाउँपालिका कृषि शाखाका कर्मचारी सचिन मेघनाथका अनुसार डिजिटल तराजु प्राप्त गर्न ९६ जना किसानले आवेदन दिएका थिए। तीमध्ये छनोट प्रक्रियामार्फत ७६ जना किसानलाई जनही एक थान डिजिटल तराजु वितरण गरिएको हो।
    डिजिटल तराजु प्राप्त गरेपछि किसानहरू उत्साहित बनेका छन्। बैजनाथ–२ का किसान दिनेश चौधरीले डिजिटल तराजुको प्रयोगले कृषि उपजको तौल गर्न सहज हुने र कारोबारमा पारदर्शिता बढ्ने बताए।
    गाउँपालिकाको कृषि शाखाका अनुसार चालु आर्थिक वर्षभित्र किसानसँग पालिका प्रमुख कार्यक्रमअन्तर्गत अन्य कृषि यान्त्रीकरणसम्बन्धी सामग्रीसमेत वितरण गर्ने योजना रहेको छ। यस कार्यक्रमले किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै कृषि उत्पादनको व्यवस्थापन, बजारीकरण र आम्दानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • २९ जेष्ठ २०८३, शुक्रबार ०९:५६ प्रकाशित

  • Nabintech