बाँके ,३० जेठ ।
बाँके जिल्लामा चैते धान खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ। आधुनिक कृषि प्रविधि, उन्नत बिउ र सिँचाइ सुविधाको विस्तारसँगै किसानहरूले वर्षमा दुई बालीबाट तीन बाली उत्पादन गर्ने अभ्यास अपनाउन थालेपछि उत्पादन तथा आम्दानीमा उल्लेखनीय वृद्धि हुन थालेको हो।
विशेषगरी जिल्लाको जानकी गाउँपालिकामा चैते धान खेती विस्तार हुँदै गएको छ। परम्परागत खेती प्रणालीलाई परिमार्जन गर्दै किसानहरूले खाली रहने जमिनको सदुपयोग गरी अतिरिक्त आम्दानी लिन थालेका छन्।
जानकी गाउँपालिका–२ का किसान कृपाराम बर्माले केही वर्षअघिसम्म वर्षमा दुई बाली मात्र उत्पादन गरेर जीविकोपार्जन गर्दै आउनुभएको थियो। तर अहिले आधुनिक कृषि प्रविधि र उन्नत बिउको प्रयोगमार्फत वर्षमा तीन बाली उत्पादन गर्न सफल भएको उहाँ बताउनुहुन्छ।
गहुँ वा तोरी भित्र्याएपछि खाली रहने खेतमा लगाइने चैते धान किसानका लागि अतिरिक्त आम्दानीको महत्वपूर्ण स्रोत बनेको बर्माको भनाइ छ। उहाँका अनुसार चैते धान बोनस बालीजस्तै सावित भएको छ। यस वर्ष उहाँले पहिलो पटक १० कठ्ठा क्षेत्रफलमा चैते धान खेती गर्नुभएको छ।
यस्तै, जानकी गाउँपालिका–६ बनकटुवाका किसान साबितराम खटिकले पनि चैते धान खेतीबाट उत्पादन र आम्दानी दुवै बढेको बताउनुभयो। उहाँका अनुसार विगतमा खाद्यान्न किन्नुपर्ने अवस्था रहे पनि अहिले चैते धानबाट बर्खे धानभन्दा समेत बढी उत्पादन लिन सफल भएका छन्।
जानकी गाउँपालिकाले ‘सिँचित क्षेत्र विस्तार कार्यक्रम’ अन्तर्गत चैते धान खेतीलाई विशेष प्राथमिकतामा राखेर प्रवर्द्धन गरिरहेको जनाएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख मनोज मण्डलका अनुसार यस वर्ष पालिकाभित्र करिब ५५ कठ्ठा क्षेत्रफलमा चैते धान खेती विस्तार गरिएको छ। किसानहरूले चैते–४, चैते–५, हरदिनाथ–१ र हरदिनाथ–४ जातका उन्नत बिउ प्रयोग गरिरहेका छन्।
किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदानमा बिउ, कृषि उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। गाउँपालिका अध्यक्ष छब्बन खाँले चैते धानबाट सामान्य धानको तुलनामा करिब डेढ गुणासम्म बढी उत्पादन हुने बताउँदै सिँचाइ सुविधा विस्तार तथा बोरिङ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो।
यद्यपि, सिँचाइ र विद्युत् आपूर्तिसम्बन्धी समस्या अझै किसानका प्रमुख चुनौतीका रूपमा रहेका छन्। न्यून भोल्टेजका कारण आवश्यक समयमा सिँचाइ गर्न कठिनाइ हुने गरेको किसानहरूको गुनासो छ। यस समस्याको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले थप बोरिङ विस्तार गर्ने तथा सिक्टा सिँचाइ आयोजनाको पहुँच गाउँपालिकासम्म विस्तार गर्न पहल थालेको जनाएको छ।
चैते धान खेतीप्रति किसानको बढ्दो आकर्षणले खेतीयोग्य जमिनको अधिकतम उपयोग, खाद्यान्न उत्पादन वृद्धि र किसानको आयस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।









