सुरक्षाकर्मीको हतियार खोस्ने प्रयासपछि प्रहरीले गोली चलाउँदा पाँच बालबन्दी मारिएका र चारजना गम्भीर घाइते भएका बाल सुधारगृहले जनाएको छ। सो क्रममा करिब ८० बालबन्दी सुरक्षा घेरा तोडेर फरार भएका छन्। सुधारगृहसँगै रहेको नौबस्ता कारागारका केही कैदी समेत भागेको जानकारी दिइएको छ।
मृतकहरूमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्। शवहरू भेरी अस्पताल नेपालगन्जमा राखिएका छन्।
घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल पुर्याइएको छ। प्रहरीले सुधारगृह र अस्पताल दुबैको सुरक्षा कडा बनाएको र फरार बालबन्दी तथा कैदीको खोजी सुरु गरिएको जनाएको छ। बुधबार बिहानसम्म सुधारगृहको अवस्था सामान्य रहेको प्रमुख श्यामबहादुर रानाले बताउनुभयो।











